वीरगञ्ज । कोरोना संक्रमितको संख्या घट्दै गएको भन्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।
क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।
यद्यपी महानगरपालिकाले विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु भने पालना गर्न निर्देशन दिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ
यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागु गर्ने, असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताह अन्गर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ गते पश्चात नियमति रुपले पठनपाठन सुरु गर्ने गराउने र कुनैपनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ ।
वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय छन् । महानगरपालिकाले भोलीबाट नै विद्यालय खोलेर सरसफाइ गर्ने, नतिजा निकाल्ने काम गर्न निर्देशन दिइसकेको छ ।
Leave a Reply