काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तीमध्ये ६ सय ९३ वटा गाडी र १ हजार २ वटा मोटरसाइकल रहेका छन् ।
नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ०१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।
प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ८ सय ११ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ८१ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ४ हजार ८ सय ५० जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
साथै, देशभर सञ्चालित ९५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ९ सय ३८ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
Leave a Reply