काठमाडौँ । सरकारले ताप्लेजुङ्गको सुकेटार विमानस्थलको नामाकरण दिवंगत नेता तथा मन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने घोषणा गरेपछि एमाले नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
शनिबार बजेटमार्फत पर्यटन मन्त्री रहँदा विमान दुर्घटनामा परि निधन भएका अधिकारीको नाममा सुकेटार विमानस्थलको नामाकरण गर्ने घोषणा सरकारले गरेको थियो । तर, त्यसप्रति ताप्लेजुङ्गबाट निर्वाचित भएका नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसवुकमार्फत आपत्ति जनाएका हुन्।
उनले लेखेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरि सहमति निर्माण गर्नु पर्दछ। यसरी मात्र सहभागिता मुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भने मात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’
२०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङ्गको पाथीभरा नजिकै दुर्घटना हुँदा तत्कालीन पर्यटन मन्त्री अधिकारी तथा व्यवसायी आङ्ग छिरिङ् शेर्पासहित सातजनाको ज्यान गएको थियो।