Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित फराकिलो गोलअन्तरले पराजित

    मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित फराकिलो गोलअन्तरले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो ।

    इराकसितको खेलमा नेपालको रक्षापंक्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो ।



    खेलमा इराकले सुरुआती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरे । खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सकेनन् । लगत्तै इराकी खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गर्न पुगे ।



    खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । त्यसपछिको आधा घण्टासम्म दुवै पक्षबाट गोल हुन सकेन । सो क्रममा दुवै पक्षबाट गोलको उत्कृष्ट प्रयास भएका थिए ।

    खेलको ३०औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे । उनले आफ्नो डेब्यू खेलमा उत्कृष्ट गोल मात्रै गरेनन् नेपाललाई २–१ गोलको अग्रता दिलाए । अग्रतालाई कायमै राख्न सकेको भए नेपालले फुटबलमा निकै बलियो मानिएको इराकलाई उसकै घरेलु मैदानमा पराजित गर्ने इतिहास नै बनाउँथ्यो ।

    पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबल प्रेमीलाई निराश पारे । खेलको ३५औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गरे ।

    यही बीचमा नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिए । यही मौकामा यस्तै खेलको ४०औँ मिनेटमा तथा इन्जुरी समयमा इराकी खेलाडी अयमन हुसेनले खेललाई ४–२ को अवस्थामा पुर्याए ।

    मध्यान्तरपछिको खेलमा नेपालले निकै दबाबमा खेल्नुपर्यो । यद्दपी इराकलाई मध्यान्तर अघिको खेलमा जस्तै धेरै गोल गर्न भने नेपाली टोलीले दिएन । खेलको ६७औँ मिनेटमा इराकका लागि मोहनाद अली अल्सामरीले गोल गर्दै ५–२ को अवस्थामा पुर्याए ।

    यस्तै खेलको ७५औँ मिनेटमा सज्जाद जासिमले गोल गर्दै इराकलाई ६–२ गोलअन्तरले विजयी दिलाए । नेपाली गोलरक्षक चेम्जोङले पहिलो हाफको तुलनामा मध्यान्तरपछिको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे ।

    नेपालले इराकसित दुई दशकपछि खेल खेलेको हो । यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको बरियता अनुसार नेपालभन्दा इराक १०३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियतामा इराक ६८औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ ।

    कोरोना भाइरसको महामारीका कारण शनिबारको खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ ।

    मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको हो ।

    समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनीज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

    विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

    राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै रहेका छन् । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार