काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकता भएको दावी गरेका छन् ।
जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गर्दै उनले पछिल्लो समय गणतन्त्रको नाममा विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएकोमा चिन्ता प्रकट गरेका छन् ।
राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्–‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो छ ।’
त्यसैगरी राप्रपाका अर्का कमल थापाले ट्वीटरमा लेखेका छन्–आज राप्रपा स्थापना दिवस, राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र सम्वर्द्धनवादको बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गरौँ। परस्पर सदभाव, एकता र आत्मियता कायम गरी राप्रपालाई देशको अग्रणी शक्ति बनाऔँ।’
यता, अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफ्नो पार्टीले लम्पसारवादलाई स्विकार गर्न नसक्ने बताएका छन् । आफ्नो धर्म र संस्कृति माथिको प्रहार लाई कदापी स्वीकार गर्न नसकिने भन्दै उनले जातियता र क्षेत्रवादमा विश्वास नराख्ने भन्दै कुनै पनि धर्मको अनादर नगर्ने बरु सबैको सम्मान गर्दै आएको बताए ।
राप्रपाको ३१ औं स्थापना दिवसको दिन आज १४औं गणतन्त्र दिवस पनि हो ।