काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर ‘असाधारण निर्णय’ लिनसक्ने बताएका छन् ।
आज संसद विघटनको विषयमा कानुनविद्हरुसँगको छलफलपछि सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ । त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टाघण्टाका सबै कुरालाई विचार गरेर मनन गरेर अगाडि बढ्नुपर्छ’, सभामुख सापकोटाले भने, ‘हामी एउटा शब्दावली मन पराउँछौँ। ठोस स्थितिको ठोस विश्लेषण गर्नुपर्छ।’
यस्तै, सभामुख सापकोटाले थपे, ‘आवश्यक पर्यो भने केन्द्रबिन्दुमा देश र जनता नै हुन्छ । देश र जनताको हितभन्दा बाहिर जाने अधिकार त कसैलाई हुँदै हुँदैन । देश र जनताको अधिकतम हित गर्नुपर्दा कहिलेकाँही संविधानको मर्म र भावनालाई आत्मसाथ गर्नेगरी काम गर्न तयार छु।’ सापकोटाले असाधारण निर्णय भनेको के हो भनेर खुलाएनन्।
उनले संविधानमा सबै कुरा लेखिएको नहुने पनि बताएका थिए । संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने पनि बताए ।
संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार आफू चल्नुपर्ने उनको भनाइ थियो । उनले पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायत सँग पनि छलफल गर्ने बताए ।
Leave a Reply