Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जसपा विवाद उत्कर्षमा, नेता भन्छन् – १०० पटक स्पष्टीकरण सोधे पनि के भो र ?

    जसपा विवाद उत्कर्षमा, नेता भन्छन् – १०० पटक स्पष्टीकरण सोधे पनि के भो र ?

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ। वर्तमान सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुई धार देखिएको जनता समाजवादी पार्टीभित्र जारी विवाद उत्कर्षमा पुगेको छ।

    मङ्गलवार तीनदिने म्याद पाएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव समूहका नेताले पार्टीको आधिकारिक निर्णय नभएको भन्दै एकअर्कालाई स्पष्टीकरण नदिने बताएका छन्।



    पार्टी ‘नीतिविपरीत’ काम गरेको भन्दै यादव समूहले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई मङ्गलवार स्पष्टीकरण सोधेको थियो।



    त्यसपछि ठाकुर समूहले पनि त्यस्तै आरोप लगाउँदै सोही दिन सोही अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोध्यो।

    एकअर्कामाथि के छ आरोप ?

    यादव समूहले पार्टीको निर्णय र ‘नीतिविपरीत’ प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद्‌ सचिवालयलाई पत्र पठाएको आरोपमा स्पष्टीकरण सोधिएको जनाएको छ।

    यादव समूह प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति घोषणा गर्ने कदमको विपक्षमा उभिएको छ भने ठाकुर समूहले त्यो कदमको स्वागत गरेको छ।

    ठाकुरले विपक्षी गठबन्धनका प्रधामन्त्री पदका उम्मेदवार नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गर्ने गतिविधिमा सामेल हुनुको कारणबारे यादवलाई स्पष्टीकरण सोधेका छन्।

    ठाकुर समूहका नेता कर्ण र शुक्लले अध्यक्षले मान्यता नदिएको एवम्‌ अनुपस्थित रहेको बैठकबाट सोधिएको स्पष्टीकरण ‘औचित्यहीन’ भएको बताए।

    ‘हामीले त्यसलाई मानेकै छैनौँ। सयचोटि स्पष्टीकरण सोधे पनि के भो र ? शुक्लले भने ।

    अर्कोतर्फ उपेन्द्र यादवनिकट नेता मोहम्मद इस्तियाक राईले व्यक्तिगत ढङ्गले सोधिएको स्पष्टीकरणको उत्तर अध्यक्ष यादवले दिन जरुरी नठानेको बताए। ‘पार्टीले संस्थागत रूपमा स्पष्टीकरण सोधेकै हैन। उहाँले जबाफ दिन जरुरी ठान्नुभएको छैन,’ राईले भने।

    यादव समूहकै अर्का नेता रामसहायप्रसाद यादवले तीन दिनको म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए कारबाही अघि बढाइने चेतावनी दिए। ‘त्यो म्यादभित्र जबाफ आउनुपर्‍यो, नआए अनुशासनको कारबाही प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

    सुरुमा जसपाका दुई अध्यक्षले ठाकुरको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार रहेको बताएका थिए । तर, पछि आएर ठाकुर समूह ओलीको पक्षमा र यादव समूह देउवाको पक्षमा उभिएपछि विवाद झन् चर्किन पुगेको हो । (बिबिसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार