काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखको परामर्शले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन अलोकतन्त्रिक र जनमतको अपमान भएको निष्कर्ष निकालेका छन्।
मंगलबार संसद भवन बानेश्वरमा सापकोटाले पूर्वसभामुखहरुलाई आमन्त्रण गरेर विघटनपछिको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे परामर्श गरेका थिए।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी भएका छन्। दुई जना पूर्वसभामुखहरु दमननाथ ढुंगाना र सुवास नेम्वाङले भने सभामुखको निम्तोलाई अस्वीकार गरेका छन्।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जननिर्वाचत संस्था देख्नै नसक्ने’ रोग लागेको आरोप लगाएका छन्। उनले भने, ‘यो कदम भर्त्सनायोग्य छ। अलोकतान्त्रिक छ।’
त्यस्तै, महराले प्रधानमन्त्रीको अनुदारवादी चरित्रका कारण लोकतन्त्रमै समस्या उत्पन्न भएको धारणा राखे। उनले असंवैधानिक रुपमा गरिएको विघटनलाई बदर गर्न कानुनी र राजनीतिक लडाई नै अहिलेको आवश्यकता भएको उल्लेख गरे। अर्की सभामुख घर्तीले पनि प्रतिनिधिसभा विघटत असंवैधानिक भएकाले जन निर्वाचित संस्थाको इज्जत राख्नुपर्ने बताइन्।
गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेताहरु एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गरेका थिए ।
Leave a Reply