Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

    धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंका लागि विदेशी खेलाडी मेसौके ओलोमोउले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा सो गोल गरेका थिए । मेसौके लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने । उपाधिसँगै काठमाडौंले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख पुरस्कार प्राप्त गरेको छ ।



    मध्यान्तर अघिको खेलमा दुवै टोलीबाट गोलको प्रयास भएको थियो । खेलको २९ औं मिनेटमा मेसौकेको फ्रिकिक प्रहार गोलपोष्ट नजिकैबाट बाहिरीएको थियो । खेलको ३० औं मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल गर्नबाट चुके । पहिलो हाफको इनजुरी समयमा पनि काठमाडौंका मेसौकेले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन् ।



    मध्यान्तरपछि खेलको ५५ औं मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडौंका गोलकिपर विकेश कुथुले जोगाए । खेलको ६५ औं मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोके ।

    यस्तै खेलको ७५ औं मिनेटमा काठमाडौंका मेसौकेको लामो प्रहार खेर गयो । खेलको ८२ औं मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुके । खेलको ९० औं मिनेटमा काठमाडौंका स्टेफान बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन् ।

    काठमाडौंले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंका राजन गुरुङ घोषित भए ।

    यस्तै काठमाडौंकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित भए । दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गरे । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टिमले भाग लिएका थिए । कोभिड १९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन् ।

    यही वैशाख ११ गतेदेखि शुरु भएको भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार