काठमाडौं । जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राण र डा. प्रकाशचन्द्र लोहनीसहितको आज बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै महाधिवेशन स्थगित गरिएको जानकारी गराउँदै नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गर्दै संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि सरकारसँग माग गरेको छ ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण भएको भन्दै राप्रपाले नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि सरकारसँग माग गरेको छ ।