काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा शुरु हुनेछ ।
लिगमा काठमाडौँ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाडौँलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाडौँले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।
समूह चरणको खेलमा पनि धनगढीले काठमाडौँलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ ।
धनगढीको कप्तानी किरणले र काठमाडौँको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Leave a Reply