काठमाडौँ। ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् ।
ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको विराटनगर ६ खेलमा ७ अंक जोडेर पांचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
यसैगरी अर्को खेलमा बुटवल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो । बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गएका थिए ।
बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन्।
Leave a Reply