नेपालगञ्ज – बाँके र रुपन्देहीमा गरी थप सात कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार उनीहरुमध्ये केहीकोे शुक्रबार राति र कोहीको आज बिहान ज्यान गएको हो । मृत्यु हुनेमा चार नेपालगञ्जका तथा एक बर्दियाका रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । उनको आज बिहान मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ का ६४ वर्षीय पुरुष, बर्दियाको बढैयाताल गाउँपालिका–७ का ५२ वर्षीय पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।
यसैगरी बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको आज बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको प्रवक्ता गौतमले बताए ।
योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ ।
Leave a Reply