गोरखा । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले हिजोबाट काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लाहरु मा लकडाउन समेत लागू गरिएको छ। तर पछिल्लो समय जिल्ला जिल्लामा समेत कोरोना संक्रमितको संख्यामा भने सुनामी नै आएको पाइन्छ।
यसैबीच, गोरखा जिल्लामा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टारमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
अन्य संक्रमित गोरखा नगरपालिकाका र आरुघाट गाउँपालिकाका रहेका छन् । गोरखा नगरपालिका–८ का ९ जना र आरुघाट गाउँपालिका–७ का एक जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलकभर थप ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ जनामा पीसीआर परीक्षण र ५२५ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५६५७ र ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ।
Leave a Reply