काठमाडौं । मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जनाको फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन भरतपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय मौसम भन्ने केश बहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नविन अधिकारी भन्ने नबराज अधिकारी रहेका छन् ।
पक्राउपरेकाहरु मध्ये बिमलालाई कास्कीको पुम्दीभुम्दी, केश बहादुर र नबराजलाई चितवन पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिमलाले पीडितलाई फेसबुकमार्फत कुराकानी गरी राम्रो कमाई हुने काममा लगाईदिने भनि काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्टहाउसमा शुरुमा वेटरको काम लगाई डर, धाक, धम्की देखाई वेश्यावृतिमा लगाएका थिए । त्यस्तै अर्का केश बहादुरले पीडितलाई राहदानी बनाउन सहयोग गरी भारतको बिभिन्न स्थानमा बन्धक बनाई श्रीलङ्कासम्म लगी अलपत्र बनाएको तथा नवराजले पीडितलाई लिबियामा क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारी दुवई हुँदै लिबियामा लगि कोठामा बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका उनीहरुमाथि थप आवश्यक कारवाही भइरहेको ब्युरोको भनाइ छ।
Leave a Reply