जनकपुर । २ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको पर्सिपल्टै सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन्।
प्रदेशसभा सचिवालयले बैशाख ३ गते एक सूचना जारी गरी प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेको थियो।
सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ।
सत्तारुढ दल जसपा र माओवादी केन्द्रले भने आजै प्रस्ताव दर्ता गराएका हुन् । नेपाली कांग्रेस र एमालेले भने प्रस्ताव दर्ता गराएका छैनन् ।
जसपा तथा माओवादी केन्द्रले दर्ता गराएको प्रस्तावमा प्रदेशको नाम र राजधानी एउटै छ ।
दुबै दलले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका छन् । जसपाको तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले प्रदेशको नामका लागि प्रस्ताव दर्ता गराएका हुन् प्रस्तावलाई बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन् ।
जसपाले स्थायी राजधानीका लागि जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भित्र प्रस्ताव दर्ता गराएको छ।
राजधानीका लागि जसपाको तर्फबाट परमेश्वर साहले प्रस्ताव गरेका हुन्। उनको प्रस्तावलाई चमेली देवी दास, सन्चमाया मोक्तान र निरा साहले समर्थन गरेका हुन्।
माओवादी केन्द्रले भने जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ ।
माओवादी केन्द्रको तर्फबाट दलका नेता भरतप्रसाद साह प्रस्तावक छन् भने उनको प्रस्तावलाई उपनेता जगतप्रसाद यादव र सचेतक दिलीप साहले समर्थन गरेका हुन् ।
दुबै दलको नाम र स्थायी राजधानीको प्रस्ताव एउटै भएकाले प्रदेशको नाम र राजधानी यहि नै हुनसक्ने आँकलन गर्न सकिन्छ । यद्यपी कांग्रेस र एमलेले भने कस्तो प्रस्ताव दर्ता गराउने हुन् त्यो भने हेर्न बाँकी छ ।
Leave a Reply