पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको छ ।
नेकपा विभाजनका कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा परेपछि कांग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । कांग्रेस, माओवादी, जसपा र जनमोर्चा एक ठाउँमा उभिएपछि पृथ्बीसुब्बको पद धरापमा परेको हो ।
जनमोर्चाले समर्थन फिर्ता लिएपछि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने पक्कापक्की भएको एक प्रदेश सभा सदस्यले बताए । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्ने पक्का भएको हो ।
कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले आज अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।
कांग्रेससित १५, माओवादीसित १२, जनमोर्चासित ३ र जसपासित २ सांसद गण्डकी प्रदेश सभामा छन् । पृथ्वीसुब्बाको विपक्षमा ३१ सांसद छन् ।
Leave a Reply