काठमाडौँ। विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र सरकारी वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन् ।
आन्दोलनरत समितिले टीकापुर घटनाका मुख्य अभियुक्त भन्दै अदालतले दोषी ठहर गरेका सांसद रेशम चौधरीलगायत थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेका छन् ।
वार्तापश्चात् सरकारी वार्ता टोलीका राजन भट्टराईले वार्ता सकारात्मक रहेको बताए ।
भट्टराईले सामाजिक सञ्जालमार्फत् सिंहदरबारमा सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक दिशाउन्मुख रहेको उल्लेख गरेका छन्।
भट्टराईले अर्को चरणको वार्ता पनि छिट्टै बस्ने जनाएका छन् ।
नेपाल सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भयो । वार्ता सौहार्दपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ । अर्को चरणको वार्तामा छिट्टै बस्ने सहमति पनि भएको छ ।
— Rajan Bhattarai (@rajancbhl) March 30, 2021
Leave a Reply