काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि गरिएको कारबाहीको कुनै औचित्य नभएको बताएका छन् ।
आज अध्यक्ष ओलीले नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बित गरेसँगै नेता नेपालले यस्तो बताएका हुन्।
निलम्बितपछि नेपालले भने, 'कमिटी नै विघटन गर्ने ओलीले गरेको कारवाहीले कुनै अर्थ राख्दैन, केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै हैन । उहाँ अवैधानिक अध्यक्ष हो उनले कारबाही गर्न मिल्दैन।'
नेता नेपालले आफुले अझै पत्र नबुझेको भन्दै भने 'पत्र अझै आएको त छैन, कसलाई कसलाई थप्ने हो, को–कसलाई निकाल्ने हो उनको कुरा हो । कम्युनिष्ट पार्टी उनलाई चाहिए पो । उनी त अराजक भएका छन् ।’
यसअघि अध्यक्ष ओलीले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको जानकारी गराउँदै पत्र पठाएका थिए ।
पत्रमा नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।