दाङ । बालगृहमा रहेकी एक बालबालिकामाथि ६ महिनादेखि नियमित बलात्कार भएको पाइएको छ ।
बालगृहमा रहँदै आएकी ति बालिकामाथि सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको हो ।
तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी जुम्लाकी १४ वर्षीया बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
ति बालिकाले चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेको भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी हुन् । जाहेरीपछि चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए । तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ ।
३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामूहिक बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका व्यक्ति भएको पनि खुलेको छ ।
चौधरीलाई सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
Leave a Reply