Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण, घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण, घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

    ५४ जिल्लाका ४३७ स्थानमा डढेलो, एक्युआई ५० हुनुपर्नेमा ४४३ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । ‘आज ५ः३० बजे मोटरसाइकलमा लाजिम्पाटस्थित कार्यालयलबाट ललितपुरमा रहेको बासस्थानसम्म पुग्दा निकै आँखा पोल्यो ।

    काठमाडौंको मौसम खराव भएको समाचार त दिउसै पढेको थिएँ । तर, आँखा पोल्ने वायु प्रदूषण भएको भन्ने चाहिं थाहा थिएन् ।



    आँखा धेरै नै पोलेपछि अनलाइनतिर समाचार हेरे र जल तथा मौसमविदको प्रतिक्रिया पनि सुने । बल्ल प्रमाणित भयो कि आजको काठमाडौंको मौसम त आँखा नै पोल्ने वायु प्रदुषणको पो रहेछ ।’  ललितपुरको ग्वार्कोमा भेटिएका एक बैंकका कर्मचारीले आफ्नो समस्या यसरी पोखे ।



    आज दिउसैबाट काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको थियो । घाम लागेको थिएन भने हावा पनि चलेको थिएन ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।

    विभागले वन डढेलो पनि एउटा प्रमुख कारण भएको जनाएको छ । डढेलो लागेको ठाउँबाट उडाएको धुवाँले गर्दा वायु प्रदूषण भएको विभागले जनाएको छ ।

    चैतको दोस्रो हप्तामै देशभर वनजंगलमा डढेलो फैलिएको छ । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै ५४ जिल्लाका ४३७ ठाउँका वनजंगलमा आगलागी भइरहेको छ ।

    वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माका अनुसार पश्चिम तराई, मध्य तराई र पश्चिमी तथा मध्यपहाडी क्षेत्रका ५४ जिल्लाका वनमा डढेलो देखिएको छ ।

    स्विट्जरल्याण्डको आइक्युएआइआरका अनुसार शुक्रबार अपरान्ह काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो। अर्थात् शुक्रबार काठमाडौं संसारका प्रदुषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो।

    काठमाडौंको स्टेशनले कम देखाए पनि भक्तपुर, कीर्तिपुर र ललितपुरको भैंसेपाटीमा भने प्रदुषण झन् धेरै देखिएको छ।

    वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार दिउँसो भैंसेपाटीमा इन्डेक्स ४४३, कीर्तिपुरमा २२१ र भक्तपुरमा २२० छ।

    एक्युआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्युआई१५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्युआई३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।

    यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु विभागले अनुरोध गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ ।

    यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

    आज एक विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ–‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ ।’

    मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।

    मन्त्रालयले भनेको छ–‘घर बाहिर निस्कै परे अनिवार्य मास्क प्रयोग गरौं । कोभिड–१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौ÷गराऔ ।’

    यस्तै धँवा, धुलो उड्ने ‍खालका पेशा, व्‍यावसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन पनि नचलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार