Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफल (तस्बिरहरुसहित)

चितवन । काठमाडौँपछि पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजोको प्रत्यारोपण सफल रुपमा गरिएको छ ।

चितवन मेडिकल कलेजका डाक्टर सञ्जय यादब, डाक्टर उकानन्द सिंह लगायतका १२ जनाको टोलीले गत चैत ८ गते भरतपुर महानगरपालिका १० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ बर्षीय धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गराउन सफल भएको हो।

धनकुमारी लामालाई उनकी छोरी उषा तामाङ्गले प्रत्यारोपणको लागि कलेजो प्रदान गरेकी थिइन।

२ बर्ष अगाडि अनुमति लिएर चितवन मेडिकल कलेजले लामो समय आन्तरिक तयारी र आबश्यक उपकरण तथा प्राबिधिक दक्ष जनशक्ति तयार पारेर कलेजो प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. हरिषचन्द्र न्यौपानेले बताए ।

योसहित नेपालमा कलेजो प्रत्यारोपण आठ जनामा भएको चिकित्सक सञ्जय यादबले बताए।

कलेजो प्रत्यारोपणको लागि अब बाहिर जानु नपर्ने र बिदेशको तुलनामा नेपालमा नै सस्तोमा कलेजो प्रत्यारोपण हुने चितवन मेडिकल कलेजले जनाएको छ।

भारतमा कलेजो प्रत्यारोपण गरेको ५० लाख भारु पर्ने गरेकोमा अब २५ लाख नेपाली रुपैँयामा गर्न सकिने अस्पतालले जनाएको छ ।

कलेजो प्रत्यारोपणको लागि १२ घण्टा लागेको थियो ।

कलेजो प्रत्यारोपण गरिएकी धनकुमारी र कलेजो प्रदान गर्ने उषा तामाङ्ग दुबैको अबस्था राम्रो रहेको अस्पतालले जनाएको छ।

धनकुमारीको कलेजो काम गर्न नसक्ने गरेर बिग्रिएको थियो । त्यसैले प्रत्यारोपणको विकल्प थिएन। पाँच महिनाअघि समस्या देखिएपछि अस्पताल लैजाँदा धनकुमारीको कलेजो नराम्ररी बिग्रेको पत्ता लागेको थियो।

उपत्यकाका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रपछि तेस्रो चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण भएको हो । चिकित्सकहरुका अनुसार कलेजोले काम नगर्ने भएपछि प्रत्यारोपण गर्नु पर्दछ । प्रत्यारोपण गरेको दुई महिनाभित्र कलेजो आफै विकसित हुन्छ ।

कलेजो प्रत्यारोपण टिमका अन्य सदस्यहरुमा रेडियोलोजिस्ट डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापा मगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा रहेका थिए । एपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार र डा. सञ्जिव अनिजा पनि कलेजो प्रत्यरोपणमा संलग्न रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077