Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई अर्बभन्दा बढी खराब कर्जा उठाउने राष्ट्र बैंकको पहलमा किन बाधक बन्दैछन् अशोक शेरचन ?

काठमाडौं । आफैले सहायक कम्पनी खडा गरि ऋण अपचलन गरेको भन्दै राष्ट्र बैंकको अनुसन्धानमा तानिएको प्रभु बैंकका बदमासीहरु एक पछि अर्को गर्दै खुल्न थालेका छन्।

नेपाल राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई हातमा लिएर प्रभु बैंकका सिइओ अशोक शेरचनले ऋण अपचलनका फाइललाई लुकाउन लगाइ कारवाहीबाट जोगिँदै आएको राष्ट्र बैंक स्रोतले वताएको छ।

शेरचनले गत बर्ष सिवाकोटीलाई राष्ट्र बैंकको गभर्नर बनाउन लबिङ समेत गरेका थिए। तर, सरकारले महाप्रसाद अधिकारीलाई गभर्नर बनाएपछि शेरचन निराश बनेका थिए।

डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह हुँदाको फाइल लुकाउन भूमिका खेलेका थिए।

तत्कालीन ग्रान्ड बैंक नेपाल प्रभु बैंक लिमिटेडसँग मर्ज हुनु अघि २०७१ सालमा केपीएमजी पोर्चुगल तथा सोको स्थानीय साझेदार टीआर उपाध्याय एन्ड को र राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाउँदा कर्जा प्रवाहमा गम्भीर घोटाला भएको उल्लेख गरिएको थियो ।

ग्रान्ड बैंकका तत्कालीन अध्यक्ष स्वरूप गुरुङले आफ्नो वित्तीय स्वार्थ रहेको चिरायु अस्पताललाई कर्जा प्रदान गर्दा सो बैंकले आर्थिक घोटाला गरेको प्रतिवेदनमा उल्लेख थियो ।

सो लगायत आधा दर्जन कर्जा प्रवाहमा अनियमितता देखिएको र बदनियतपूर्ण तरिकाले कर्जा प्रवाह गरेको देखिएको जनाउँदै संलग्न सबै पदाधिकारीलाई बैंकिङ कसुर सजाय ऐन, २०६४ अनुसार कारबाही अगाडि बढाउने निर्णय २०७२ असोज १२ गते बसेको राष्ट्र बैंकको नीति निर्देशन समितिको ३७९औं बैठकले गरेको थियो ।

तत्कालीन समयमा नीति निर्देशन समितिको अध्यक्षता तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । अधिकारी डेपुटी गभर्नरबाट हटेपछि डेपुटी भएका सिवाकोटीले नीति निर्देशन समितिको अध्यक्षको जिम्मेवारी पाएका थिए।

तर, उनले उक्त फाइलको कारवाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा उल्टै शेरचनसँग सम्बन्ध बिस्तार गरी आर्थिक लाभ लिएको आरोप समेत लाग्यो।

अधिकारीले सोसम्बन्धी फाइलको कारबाहीको प्रक्रिया गभर्नर बनेपछि अगाडि बढाएका थिए ।

तर, प्रभु बैंकका सिइओ अशोक शेरचनको बालुवाटारदेखी शितल निवाससम्म राम्रो कनेक्सन रहेका कारण अर्बौको ऋण अपचलनका फाइलको कारवाही प्रक्रिया अगाडि बढ्न नसकेको राष्ट्र बैंक स्रोतको दाबी छ।

ग्रान्ड बैंकले दुई अर्ब भन्दा बढी खराब  कर्जा प्रवाह गरेको र उक्त समयमा त्यहाँ कार्यरत केही कर्मचारीहरु हाल प्रभु बैंकमा समेत कार्यरत रहेको हुँदा सो सम्बन्धमा राष्ट्र बैंकले छानविनका लागि केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी) लाई निर्देशन दिए पनि शेरचनले बिभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिन लगाएर छानविन नै गर्न नदिएको राष्ट्र बैंक स्रोतले वतायो।

आफ्नै बैंकको दुई अर्ब भन्दा बढी खराब  कर्जा उठाउन राष्ट्र बैंक र सिआईबीले पहल गरे पनि शेरचनले किन त्यसमा भाँजो हालेका छन् ? रहस्यमय बनेको राष्ट्र बैंककै एक उच्च अधिकारी प्रश्न गर्छन्।

शेरचनमाथि कीर्ते काम गरेर समस्यामा परेको जानकी मेडिकल कलेजको नाममा करोडौं ऋण प्रवाह गरेको र प्रत्येक वर्ष भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गर्न लगाइ चरम अनियमितता गर्दै आएको आरोप समेत लागेको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077