काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित देशकै ठूलो र पुरानो वीर अस्पतालमा अनियमितताले सीमा नै नाघेको छ । अनियमितताका बारेमा सर्वजनिक खरिद अनुगमन कार्यालयको वार्षिक प्रतिवेदन २०७५/२०७६मा उल्लेख छ ।
त्यसैगरी महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५/७६ ले कर्मचारी भर्ना, उपकरण खरिद, खरिद एकाई गठन र आफूनिकटसँग महँगोमा कोटेशनमार्फत् सामान आयात र अस्पतालभित्रको निर्माण कार्य गरेकाले जिम्मेवार कर्मचारीमाथि कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
महालेखाले खरिद प्रमुख, तत्कलीन उपकुलपति र ट्रमाका निर्देशकलाई कारवाही र सो रकम असुल उपर गर्ने भनी प्रतिवेदन दिएको र राष्ट्रिय सर्तकता केन्द्रले २०७५ साउनमा ३ महिना लगाएर छानबिन गर्दा दरवन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको उल्लेख गरेको छ ।
अनियमित तरिकाले नियुक्ति दिने न्याम्सका उपकुलपतिलाई कारवाही गरी सो रकम असुल उपर गर्नुपर्ने र अनियमित तरिकाले महंगोमा इन्टाअप सीटी स्क्यान मेसिन २ थान ४१ करोड रुपैयाँमा खरिद गरेको छ । तर, हालका पदाधिकारीले त्यसको कमिसन नपाएपछि त्यसै थन्क्याका छन् ।
त्यस्तै महँगोमा नियमविपरीत ४६ करोड रुपैयाँमा टेमोथोपारी खरिद गरेको भन्दै खरिद प्रमुख भगवती थपलिया, तत्कालीन उपकुलपति डा. गणेश गुरूङ र ट्रमा सेन्टरका निर्देशकलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
सो प्रतिवेदन प्रधानमन्त्रीलाई २०७५ असोजमै दिएको र प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन अनुसार काबाही गर्ने भने पनि हालसम्म कुनै कारवाही भएको छैन । सतर्कता केन्द्रले सो प्रतिवेदन थप छानविन र कारवाहीको लागि २०७५ असोजमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।
तर, न्याम्स प्रशासन र पदाधिकारीहरु, उपकुलपति र रजिष्टार प्रमिला देवानले दोषीलाई हालसम्म कुनै कारवाही गरेका छैनन् । दोषीलाई उल्टै अस्पतालको खरिद एकाई, स्टोर, मेडिकल बोर्डलगायत कमाई हुने स्थानमा राखिरहेको छ । उनीहरुले हाल पनि अनियमित तरिकाले कर्मचारी भर्ना, उपकरण खरिद, मर्मत, कोटेशनमा सामान आयात, मेडिकल बोर्ड सिफारिश र आफूनिकटलाई टेन्डर दिने, बिमाको कमिसन खाने गरेको आरोप छ ।
हालै पनि अस्पताल कर्मचारी युनियनले अस्पतालमा अनियमितता भएको भन्दै नियमविपरीत महँगो टेमोथोपारी ४७ करोड रुपैयाँमा खरिद गरेको छ । सिटी स्क्यान इन्टा अप सिटी २ वटा ४१ करोड रुपैयाँमा किनिएको छ । तर हालसम्म सो सञ्चालन नगरेको र सो सामान हलचोकस्थित सशस्त्र प्रहरी बलको क्याम्पमा राखिएको छ ।
हल्चोकमा उक्त मेसिनमा पानी चुहिएर र हावा छिरेर बिग्रिसकेको छ । अस्पतालका अन्य बिग्रिएका उपकरणहरुमा मेमोग्राम, स्पेशल एक्सरे, सिटी स्क्यान, इन्डोस्कोपी, फाइबर स्क्यान, सि–आर्म, भेन्टिलेटर, अटोक्लेभ मेसिन, अक्सिजन प्लान्ट, बेड इबस लगायत उपकरण नवनाएको तर नयाँ किन्न आफूनिकटसँग स्फेसिफिकेशन माग गरिएको छ । आफूसँग सेटिङ भएका ब्यापारीलाई खरिदको जिम्मा दिन स्पेसिफिकेसन तयार गरी त्यसका लागि बजेट स्वास्थ्य मन्त्रालयसग मागिएको छ ।
वीर अस्पतालको विस्तारित दुवाकोट परियोजना आफूनिकटलाई डीपीआर गर्ने टेण्डर दिन नपाएपछि २०७६/२०७७ को ८० करोड बजेट खरिद प्रमुख थपलिया, पूर्वनिर्देशक डा. केदार सेन्चुरी, रजिष्टार प्रमिला देवान, रेक्टर डा. सुवोध अधिकारी र ट्रमा निर्देशक डा. सन्तोष पौडेलले सो ८० करोड बजेटै फ्रिज गराएका छन् ।
रजिष्टार देवानले त कर्मचारीको बढुवा र स्तर बृद्धिमा समेत नियमावलीमा हुँदै नभएको कागजपत्र मागेर कर्मचारी बढुवा र स्तर बृद्धिमा पैसा नलिई फाइल सदर नगर्ने गरेको गुनासो छ ।
वीर अस्पतालको अगाडि रहेको औषधि पसल ३ बर्षदेखि विनाटेण्डर कमिसन लिई खरिद प्रमुख भगवती थपलिया र रजिष्टार प्रमिला देवानको मिलेमतोमा संचालन भइरहेको छ ।
समायोजनमा परेका अस्पतालका कर्मचारीलाई अस्पतालका निर्देशक र मेडिकल बोर्डले रजिष्टार देवानको निर्देशनमा यी कर्मचारी रोगी हुन् भनी सिफारिश गरेको बिषय यसअघि नै संचारमाध्यमले प्रकाशित गरिसकेका छन् । जो बिरामी नै छैनन्, ती नक्कली बिरामी कर्मचारीहरु ८१ जना रहेका छन् ।
उनीहरुलाई हालसम्म प्रशासन, निर्देशक र रजिष्टारको मिलेमतोमा रमाना नदिई खरिद एकाई, मेडिकल बोर्ड र स्टोरको जिम्मेवारी दिइरहेको छ । यी सबै बिषयमा छानबिन र भ्रष्टाचारीलाई कारबाही गरिपाउँ भन्दै वीर अस्पतालका कर्मचारीले २०७७ फागुन २ मा प्रधानमन्त्री कार्यालय, अख्तियार, सर्तकता केन्द्र र स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवकहाँ निवेदन दिएका थिए ।
सो सम्बन्धमा प्रधानमन्त्री कार्यालयको २०७७ फागुन ४ को निर्देशनपछि स्वास्थ्य मन्त्रालयले यही २०७७ फागुन १३ मा ४ सदस्यीय छानबिन समिति बनाएको छ । सो समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भने पनि हालसम्म सो समितिले कुनै काम गरेको छैन ।
सो समितिलाई ट्रमा सेन्टरका निमित्त मे.सु. डा.सन्तोष पौडैल, वीर अस्पतालका तत्कालीन निर्देशक डा. केदार सेन्चुरी, खरिद प्रमुख भगवती थपलिया र रजिष्टार देवानले आफू फस्ने भएपछि समितिलाई आवश्यक कागजपत्र नै नदिएको समितिका सदस्यहरु बताउँछन् ।
जभबतिज।वउन
त्यसैगरी अस्पतालमा रहेका उपकरण खरिद कहिले, कसरी गरेको र के के खरिद गरेको, बिग्रिएका उपकरणहरु कहिले, कसरी खरिद गरेको, कहिलेदेखि बिग्रिएको र के के छन् र कुन कुन तरिकाले खरिद गरेको भनी २०७७ कात्तिक २१ मा अत्यन्त जरूरी र गोप्य भनेर सात दिनभित्र सम्पूर्ण बिबरण माग गरे पनि वीर अस्पतालका निर्देशक, खरिद प्रमुख र रजिष्टार देवानले आफ्नो भ्रष्टाचारको पर्दाफास हुने हुँदा अख्तियारलाई हालसम्म पनि जवाफ नपठाएको स्रोतले बताएको छ ।
त्यस्तै सर्वोच्च अदालतले प्रतिष्ठान स्वायत्त रुपमा सञ्चालन गर्ने र कर्मचारी र शिक्षकको बढुवा तथा सेवावधि जोडेर गणना गर्ने निर्देशन दिए पनि पदाधिकारीको समूह रेक्टर डा। सुवोध अधिकारी, डिन पियुष दाहल र रजिष्टार देवानले सो आदेश कार्यान्वयन गरेका छैनन् । उनीहरुलाई घुस दिने कर्मचारीहरुको भने बढुवा र स्तरबृद्धि गर्ने गरेको गुनासो प्राप्त भएको छ ।
वीर अस्पतालमा कर्मचारीले २ महिनादेखि तलव नपाएको, ८ महिनादेखि शैक्षिक भत्ता, कोभिड भत्ता, जोखिम भत्ता पाएका छैनन् । हाल अस्पतालमा जम्मा १ हजार ४ सय ५० कर्मचारी छन् । नेपाल सरकार स्वास्थ्य सेवा र निजामती सेवातर्फका ७ सयको संख्यामा छन् भने प्रतिष्ठान सेवाको ७ सय ५० जना कर्मचारी छन् । तर, यी कर्मचारीले तलव पाएका छैनन् ।
न्याम्सका पदाधिकारीहरू जसमा रेक्टर अधिकारी र रजिष्टार देवानले आफूनिकट कर्मचारीलाई १५० प्रतिशत भत्ता खुवाउन ८१ जना भन्दा बढी कर्मचारी वीर अस्पतालमा काजमा राखेका छन् । तिनीहरुको समायोजन भने वीर अस्पताल भन्दा बाहिर छ । तर अस्पताल प्रशासनले उनीहरुलाई रमाना दिएको छैन ।
तिनीहरु भने स्टोर, खरिद, मेडिकल बोर्ड जस्ता कमाउ अड्डामा बसेर ब्यापक अनियमितता गरिरहेका छन् । २०७७ चैत १ गतेदेखि अस्पतालमा निर्देशक पद रिक्त छ । अस्पतालका अधिकांश चिकित्सक तथा कर्मचारीहरु वीर अस्पताल र ट्रमा सेन्टरमा भ्रष्टाचार छानविन गर्ने सक्ने, बिग्रिएका उपकरण मर्मत गरी चलाउन सक्ने, दुवाकोट परियोजना अघि बढाउन सक्ने, नयाँ सर्जिकल भवन सञ्चालन गर्न सक्ने काबिल ब्यक्तिलाई निर्देशक बनाउनुपर्ने पक्षमा छन् ।
वीरमा अब नियुक्त हुने निर्देशकले सर्तकता केन्द्रको २०७५ को सिफारिस अनुसार भ्रष्टाचारी कारवाही गर्नसक्ने, प्रतिष्ठानको ओएनएम सर्भे गर्न सकोस् भन्ने चाहन्छ । यी समग्र पक्षलाई सम्बोधन गर्नसक्ने निर्देशक नियुक्तिका लागि कर्मचारीहरुले स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव र उपकुलपति समक्ष ज्ञापनपत्र नै बुझाएका छन् ।
यस्तो क्षमता भएका चिकित्सकहरुमध्येका डा. भूपेन्द्र बस्नेत, डा. दीपेन्द्र श्रेष्ठ र डा. रूद्र मरासिनीलाई बनाउनुपर्ने माग गरेका छन् । अन्य निर्देशक आएमा अस्पताल चल्न नसक्ने भन्दै अस्पताल बाहिरबाट केही आएमा अस्पताल प्रवेश गर्ने नदिने लगायत आन्दोलनको तयारी डाक्टरहरूको संस्था एफ.डी. ए. र कर्मचारी युनियनले गरेको छ । तर, रजिष्टार देवानले भने आफूनिकटलाई आर्थिक चलखेलमा सिफारिस गर्ने भन्दै डाक्टरसँग् मोलमोलाई गरिरहेको आरोप छ ।
त्यस्तै तमाम कर्मचारी र शिक्षकले भने नयाँ निर्देशकमा डा भूपेन्द्र बस्नेत, डा दिपेन्द्र श्रेष्ठ र रूद्र मरासिनीलाई सिफारिश गर्न उपकुलपतिलाई सहकुलपतिकहाँ सिफारिश गर्न अनुरोध गरिसकेका छन् ।
उपकुलपतिनिकट स्रोतका अनुसार माथिका नाममध्येबाट निर्देशक नियुक्त गर्न भीसी सकारात्मक छन् तर कमिसनखोर रेक्टर र रजिष्टार भने आर्थिक चलखेलमा नियुक्त गर्न दबाब दिइरहेको स्रोतको दाबी छ ।
Leave a Reply