काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारअभियोगमा नेपाल प्रहरीका दुई एसएसपीमाथि छानविन प्रक्रिया अगाडि बढाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत पूजा सिंहविरुद्ध परेका उजुरीमाथि अख्तियारले छानविन र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
एसएसपीद्वय बज्राचार्य र सिंहमाथि आर्थिक अनियमितता गरेको अभियोग लागेको छ ।
एसएसपी बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनमा निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो ।
बज्राचार्य ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर इञ्चार्ज थिइन् ।
एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टीएडीए नदिएर आफैंले हिनामिना गरेको आरोप छ ।
सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर सिंहले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो ।
सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको इञ्चार्ज थिइन् । अहिले उनी प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत छिन् ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले एसएसपीद्वय बज्राचार्य र सिंहविरुद्ध परेको उजुर उपर छानविन भइरहेको संचारमाध्यममा नै प्रतिक्रिया दिएपछि प्रहरीभित्र भुइचालो गएको छ ।
पूजा सिंहको उजुरीमा अख्तियारले चासो राखेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो ।
छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।
छानबिन अन्तिम चरणमा पुगिसकेकाले केही दिनमा मुद्दा दायर गर्ने तयारीमा अख्तियार रहेको स्रोतले बताएको छ ।
प्रहरीका उच्च हाकिमले भ्रष्टाचार गरेका समाचार बेलाबेला बाहिरिने गरेको छ ।
Leave a Reply