काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले आफुहरुलाई काम गर्न केपी शर्मा ओलीसँग नै सहज हुने बताएका छन् ।
शुक्रबार माओवादी केन्द्रका नेता वर्षमान पुनसँगको भेटघाटमा ठाकुरले प्रधानमन्त्री ओलीले आफुहरुका माग सम्बोधन गर्ने आश्वासन दिएको बताए ।
माओवादी केन्द्रका नेता पुन जसपा नेता महन्त ठाकुरलाई भेट्न उनकै निवास कौशलटार पुगेका थिए। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाकुरलाई भेट्न पठाएका थिए ।
पुनले ठाकुरसँग उनीहरूका मागका विषयमा कुरा राखे पनि ठाकुरले स्पष्ट जवाफ दिएनन् । ठाकुर सत्ता समिकरणमा ओलीसँग नजिक देखिएका छन् । ठाकुरसँगै जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि ओलीलाई समर्थन गरेर सरकारमा सहभागी हुन खोजिरहेका छन् ।
तर जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवभने ओलीसँग कुनै पनि हालतमा सत्ता समिकरण नगर्ने पक्षमा देखिएका छन् । जसपाकै कारण राजनीतिले निकास पाउन सकिरहेको छैन ।
जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता विधेयक ल्याउनुपर्नेलगायत माग अघि सारेको छ । तर ति मागहरु पूरा गर्न कोही पनि अहिलेसम्म तयार देखिएका छैनन् ।
Leave a Reply