काठमाडौँ। नेपालका औषधी नियामकहरूले कसरी आफ्नो अनुमतिबिना बहराइनका राजकुमारले नेपालमा कोभिड-१९ खोप ल्याउन सफल भए भनेर अनुसन्धान गरिरहेको जनाएका छन् ।
मोहम्मद हमाद मोहम्मद अल-खलिफा सोमवार झन्डै २ हजार डोज आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुगेका छन् ।
नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ ।
किन ल्याइयो खोप ?
नेपाली सञ्चारमाध्यमहरूलाई बहराइन दूतावासले जनाए अनुसार ती राजकुमारले गोरखा जिल्लाका केही मानिसहरूलाई उक्त खोप दिन चाहेका थिए।
भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका एकजना प्रवक्ता थानेश्वर गुरागाईँले मङ्गलवार द हिमालयन टाइम्स पत्रिकालाई बताए अनुसार सात दिन क्वारन्टीनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ।
त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको उनले बताए।
त्यसपछि सगरमाथा आरोहण गर्ने राजकुमारको योजना रहेको बताइएको छ।
सरकार बेखबर
औषधी व्यवस्था विभागका प्रवक्ताले बीबीसीलाई त्यो खोप कसरी नेपाल भित्रन सक्यो भनेर औपचारिक छलफल थालिएको बताएका छन्।
उनले भने, ‘उक्त खोप ल्याइएकोबारे स्वास्थ्य मन्त्रालय र विभाग बेखबर छ। यो बिषय अहिले अनुसन्धानको क्रममा छ।’
खोपको भण्डारण व्यवस्थित ढङ्गले भएको सुनिश्चितता सहित नेपालमा खोप ल्याउन पूर्वस्विकृति लिनुपर्ने अनिवार्य व्यवस्था छ।
नेपालले २७ ज्यानुअरीबाट खोप कार्यक्रम सुरु गरेको छ र उसले जोखिम समूहलाई प्राथमिकतामा राखेर खोप दिइरहेको छ।
६५ वर्ष र माथिका उमेर समूहका मानिसहरूले यतिखेर नेपालमा खोप लिइरहेका छन्। स्रोत : बिबिसी
Leave a Reply