एजेन्सी । सन्यास लिएको पाँच वर्षपछि स्वीडेनका कीर्तिमानी गोलकर्ता जाल्टन इब्राहिमोविच राष्ट्रिय टिममा फर्किएका छन् ।
३९ वर्षीय इब्राहिमोविचले स्वीडेनका लागि ११६ खेलमा ६२ गोल गरेका छन् । उनले सन् २०१६ को युरोकपपछि राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।
तर उनले सन् २०२० को नोभेम्बरमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफू पुनः राष्ट्रिय टिममा फर्किन सक्ने सम्भावना रहेको भन्दै मार्ग प्रसस्त गरेका थिए ।
स्वीडेनका प्रशिक्षक ज्यान एन्डर्सन इब्राहिमोविचलाई भेट्न मिलान गए र त्यसपछि उनको राष्ट्रिय टिममा पुनरागमन भएको हो । यो सिजन उनले इटालियन सिरी ए मा १४ खेलमा १४ गोल गरिसकेका छन् ।
स्वीडेनले मार्च २५ मा जर्जिया र त्यसको तीन दिनपछि कोसोभोसँग विश्वकप २०२२ को छनौट अन्तर्गत प्रतिस्पर्धा गर्ने छ । स्वीडेनले आफूसहितको टोली घोषणा गरेपछि इब्राहिमोविचले ‘द रिर्टन अफ द गड’ भनेर ट्वीट गरेका छन् ।
Leave a Reply