काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४४ ले बढेर ४३०.४९ मा पुगेको छ ।
नेप्सेमा झिनो सुधार भए पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल २१६ कम्पनकिो ९० लाख १२ हजार ८५३ कित्ता शेयर रु तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ मा कारोवार भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब एक अर्ब ८५ करोड २९ लाख २० हजारको हाराहारीमा रहेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६७, होटल तथा पर्यटन ८६, वित्त १.२१, उत्पादन २३.२५, लघुवित्त २७.३६, जीवन बीमा २३०.२९ र लगानी ०.२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ७२.५९, विकास बैंक २.३५, जलविद्युत् ३१.८३, अन्य २०.११ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेको छ ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ३८ लाख ७९ हजार ८८४ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु १८ करोड ८५ लाख २९ हजार ६४४, नेपाल पूर्वाधार बैंक रु १७ करोड दुई लाख ६६ हजार ४५४, नबिल बैंक रु १३ करोड ८९ लाख ५३ हजार ८५, नेशनल हाइड्रो पावर कम्पनी रु १२ करोड १६ लाख आठ हजार ७१४, एचआइडिसिएल रु १० करोड ५६ लाख पाँच हजार ६१०, एनआइसि एशिया बैंक रु आठ करोड ७७ लाख ९६ हजार ८९२, नेको इन्स्योरेन्स रु सात करोड ९५ लाख ५८ हजार १९८ र ग्लोबल आइएमई बैंक रु सात करोड ८२ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
Leave a Reply