काठमाडौँ । काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । एक सय ६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गरे । यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाए ।
बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एक एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १०५ रन मात्र बनायो । एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो ।
टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शंकर राना चार रनमा तथा आसिफ शेख र शरद भेषवाकर बिना कुनै रन पेभेलियन फर्किए ।
यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, बसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए ।
बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार चार विकेट लिए । यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिए ।
प्रतियोगितामा पुलिस र एपीएफ सँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।
Leave a Reply