Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रेशम चौधरीलाई छाडे ओलीलाई साथ दिने जसपाको भित्री तयारी

    रेशम चौधरीलाई छाडे ओलीलाई साथ दिने जसपाको भित्री तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै बनाइदिएपछि नयाँ सरकारको चर्चा शुरु भएको छ ।

    नेकपामै हुँदा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग सहमति जुट्न नसकेपछि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेता माधवकुमार नेपालसँग मिलेर नयाँ समूह गठन गरेका थिए ।



    अब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि जनता समाजबादी पार्टी (जसपा) ले भने भित्री रुपमा शर्तसहित सरकारमा जाने तयारी थालेको छ ।



    त्यसका लागि आज सरकार र जसपाबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताएका छन् ।

    मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकमा एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल बनाएको भन्ने विषय उठेपछि कर्णले सत्ता सहकार्यका लागि नभई चौधरीको रिहाइको विषयमा कुरा भएको बताए ।

    यद्यपी बैठकमा सरकारमा जाने÷नजाने बारेपनि छलफल भएको स्रोतको दावी छ ।

    सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको निर्णय सार्वजनिक भइसकेको छ ।

    समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो।

    कार्यदलमा रहनेहरूको नाम बुधबार सार्वजनिक गरिने जसपाका सांसद महम्मद इस्तियाक बताइसकेका छन् ।

    सरकारसँगको छलफलमा जसपाको तर्फबाट कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा नेकपा एमालेकातर्फबाट सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका सल्लाहकारहरू राजन भट्टराई र विष्णु रिमाल सहभागि थिए ।

    आज गठन भएको कार्यदलले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता अनि लाल आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल गर्ने पनि जनाइएको छ ।

    टीकापुर घटनामा संलग्न चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले पुस २ गते जन्मकैदको फैसला सुनाएको थियो ।

    २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाइ नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

    उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ । जसपाले टीकापुर घटना राजनीतिक विषय भएको हुँदा चौधरीको रिहाइ हुनुपर्ने बताउँदै आएको छ ।

    यद्यपी जसपाभित्र पनि सरकामा जाने र नजाने भन्नेबारे दुई धार देखिएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरिसकेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई सरकारमा नजाने पक्षमा छन् ।

    तर, राजेन्द्र महतोले भने ठाकुरलाई साथ दिएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार