Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अमेरिकी खुफिया रिपोर्टको दाबी – पत्रकारको हत्या योजनालाई साउदीका युवराजले स्वीकृति दिए

    अमेरिकी खुफिया रिपोर्टको दाबी – पत्रकारको हत्या योजनालाई साउदीका युवराजले स्वीकृति दिए

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    एजेन्सी। अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ।

    बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई ‘पक्राउ गर्न अथवा हत्या गर्ने’ योजनालाई स्वीकृति दिएका थिए।



    अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।



    साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई नकारात्मक, झुटो र अस्वीकार्य बताएको छ। साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा उनको कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गरेका छन्।

    खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिएका थिए र उनको शरीर टुक्रा टुक्रा पारिएको थियो।

    ५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए। तर पछि उनी टाढिए र स्व-निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए।

    त्यहीँ उनले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्थे जसमा उनले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्ने गर्थे।

    रिपोर्टमा के छ?
    अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ।’

    युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् र उनलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ।

    गुप्तचर रिपोर्टले उक्त कारबाही साउदी युवराजले गराएका थिए भन्ने निष्कर्षमा पुग्न तीनवटा कारण देखाएको छ। रिपोर्टमा खसोग्जीको हत्यामा संलग्न भनेर आरोपितहरूको नाम पनि उल्लेख गरिएको छ।

    तर रिपोर्टमा भनिएको छ, ‘उनीहरू कहिलेदेखि त्यसमा संलग्न थिए भन्ने चाहिँ हामीलाई थाहा छैन।’

    साउदी अधिकारीहरूले ती पत्रकारलाई देशमा फर्काउन पठाइएको समूहले गरेको गलत कारबाहीका कारण मारिएको आरोप लगाउँछन् र गत सेप्टेम्बर महिनामा साउदी अदालतले पाँचजनालाई पहिले फासी तर पछि बीस वर्षको जेल सजाय सुनाएको थियो।

    सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले साउदी राज्यलाई खसोग्जीको हत्या गराएको भन्दै न्यायालयको दुरुपयोग गरेको आरोप लगाएका थिए।

    यसले साउदी अमेरिका सम्बन्धमा के अर्थ राख्छ ?
    रिपोर्ट सार्वजनिक भए लगत्तै अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले केही साउदीहरूमाथि यात्रा प्रतिबन्धहरू घोषणा गरेका छन्।

    उनले भने, ‘रिपोर्टमा नाम उल्लेख भएकाहरू गम्भीर क्रियाकलापमा प्रत्यक्ष सहभागी थिए।’

    उनले ‘कुनै पनि विदेशी सरकारले फरक विचार राख्नेहरूमाथि निशानाबाजी गर्छ भने तिनलाई अमेरिका आउन नदिइने’ चेतावनी दिए।

    त्यसैगरी अर्थ मन्त्रालयले युवराज नजिक रहेका उनका एक अङ्गरक्षक र पूर्व गुप्तचार उप प्रमुख अहमद असिरि र हत्यामा संलग्न केही उनका अङ्गरक्षकहरूमाथि प्रतिबन्ध लगाएको छ।

    सन् २०१८ मै सीआईएले युवराज नै हत्या गर्ने आदेश दिएको विश्वास गरेको बताइएको थियो तर अहिलेसम्म अमेरिकी सरकारले त्यस बमोजिमको रिपोर्ट सार्वजनिक गरेको थिएन।

    विश्वकै सबभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबिया मध्यपूर्वमा अमेरिकाको एक प्रमुख समर्थक मुलुक हो।

    अमेरिकी राष्ट्रपति जो बाइडनले उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा साउदी अरेबियामा मानव अधिकार विधिको शासनबारे कडा अडान लिने ठानिएको छ।

    बिहीवारको फोन वार्ताका बेला राजा सलमानसँग राष्ट्रपति बाइडनले मानव अधिकार र विधिको शासनमाथि अमेरिकाले दिने महत्त्वबारे जोड दिएको ह्वाइट हाउसले जनाएको छ।

    रोयटर्स समाचार संस्थाले उदृत गरेका समाचार स्रोतले बाइडन प्रशासनले हतियार संझौता रद्द गर्ने सम्मका कुराहरू भइरहेका छन्।

    अमेरिकी रिपोर्ट अस्वीकार गर्दै साउदी विदेश मन्त्रालयले हत्यामा संलग्नहरूको अनुसन्धान गरेर न्याय प्रदान गरिसकिएको बताएको छ।

    विदेश मन्त्रालयले भनेको छ, ‘यो रिपोर्ट सही छैन साउदीले उक्त अपराधको अनुसन्धान गरेर दण्ड समेत दिइसकेको अवस्थमा यस्तो रिपोर्ट आउनु दुर्भाग्यपूर्ण छ।

    देशको नेतृत्वमाथि सार्वभौमस्तामाथि र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने कुनै पनि कार्यअस्वीकार्य छ।’ बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार