काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई आगामी बैशाख १७ र २७ गतेका लागि तय भएको चुनावी तयारीमा जुट्न आह्वान गरेको छ।
पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूसहित मतदातालाई समेत सहभागीताका लागि अपिल गरेका छन्।
विहीबार आयोगले ५ औं निर्वाचन दिवस मनाउँदैछ। थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन् ।
वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो।
‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्रको सहभागीता हुनेमा आयोग ढुक्क छ’, सन्देशमा भनिएको छ–‘निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ।’
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले दिवस मनाइरहेको उल्लेख गरेका उनले भनेका छन्–‘चुनावको आन्तरिक तयारी तिव्रका साथ भइरहेको छ।’
यद्यपी केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको घोषणा गरेको चुनाव हुने नहुनेबारे सर्वोच्च अदालतले निर्णय गर्नेछ । प्रतिनिधिसभा विघटन नै असंबैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेको र त्यसको बहस जारी रहेकै बेला प्रमुख निर्वाचन आयुक्तले भने निर्वाचनमा होमिन आग्रह गरेका हुन् ।