काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको हत्या बारे अनुसन्धान गर्न आफै फिल्डमा खटिएका छन् ।
भट्टको हत्या भएको स्थानको अध्ययन गर्न डीआईजी सुवेदी घटनास्थलतर्फ लागेका हुन्।
झण्डै तीन वर्ष अघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा लापरवाहि भएको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला फेरि त्यस्तो घटना दोहोरिन नपाओस् भनी डिआईजी सुवेदी आफै फिल्डमा गएको प्रहरी स्रोतको दावी छ ।
निर्मला हत्या प्रकरणमा जस्तो घटनास्थलबाट प्रमाण नहराउन् र हत्यारा पत्ता लगाउन नसक्ने अवस्था सृजना नहोस् भन्ने उद्देश्यले नै थप अध्ययन र अनुसन्धानका लागि डिआईजी आफै घटनास्थलतर्फ लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि पनि घटनास्थल अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली घटनास्थल पुगेको छ ।
प्रदेश कार्यालयबाट बरिष्ठ उपरिक्षक जनक पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेको छ भने सिआईबीबाट डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।
भागीरथीको शव शनिबार जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको खुलिसकेको छ ।
भागीरथीको शव पोष्टमार्टम अघि नै शुक्रबार भेजाइनल स्वाब संकलन गरिएको छ
बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् ।
बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।
उनको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
Leave a Reply