तनहुँ । नेकपा प्रचण्ड -माधब समूहका नेता वर्षमान पुन ‘अनन्त’ले संविधान मिचेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जनताले गल्लीमा लगेर घिसार्ने चेतावनी दिएका छन्।
दमौलीमा शनिबार तनहुँका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली र थापाको अन्त्य इतिहासका तानाशाहको जस्तै हुने दाबी गरे ।
बादलले ओली सरकारमा तीन वर्षसम्मसँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले शुक्रबार राजधानीमा गरेको आमसभामा गृहमन्त्री बादल प्रचण्ड–नेपाल समूहलाई ‘मांसाहारी आन्दोलन गरे जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।
नेता पुनले प्रचण्डलाई चिडियाखानामा होइन बादललाई जनताले गल्लीमा घिसार्ने चेतावनी पनि दिएका छन्।
सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता नडराउने उनको भनाइ छ ।
विगतमा धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे । नेता पुनले ओलीलाई नेतृत्व स्वीकार गरेर गल्ती भएको स्वीकार गरे ।
Leave a Reply