कैलाली। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछका लागि ६ जनालाई पक्राउ गरेको छ । घटना अनुसन्धानका क्रममा ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।
घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काम गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले ६ ज जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएका छन् ।
मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् ।
बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।
शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताएका थिए। प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ ।
किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न राजनीतिक पार्टी तथा विभिन्न संस्थाले माग गरेका छन् । उनीहरुले निर्मला पन्तको जस्तो फितलो अनुसन्धान नगर्न प्रहरीलाई चेतावनी पनि दिएका छन् ।
Leave a Reply