सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ११ लाख ठगी गर्दै हिँडेका एक जनालाई पक्राउ गरेको छ ।
नेपाली सेनाको उपसेनानी (लेफ्टीनेण्ट)को नाममा ठगेको आरोपमा पर्सा ठोरी–५ का २८ वर्षीय शिवकुमार कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीले इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दर्ज्यानी चिन्हसहितको पोसाक पनि लगाएका थिए ।
कार्कीले ११ लाख रूपैयाँ ठगेको सूचना प्रहरीमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ नगद, विभिन्न बैङ्कको एटिएम र आइएमईका रसिद तथा विभिन्न कम्पनीका चारथान मोबाइल सेट पनि बरामद गरिएको छ ।