काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहलाई काउन्टर दिँदै शक्ति प्रदर्शन गर्न लागेको नेकपा केपी ओली समूहले शुक्रबार नारायणहिटी दरबार अगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्न लागेको छ ।
आयोजक बागमती प्रदेश कमिटीका अनुसार नारायणहिटीको वारपार क्षेत्रमा जनसभा गर्ने गरी प्रदर्शनमा दुई लाख मान्छे उतार्ने तयारी गरिएको छ भने प्रहरी संरक्षणमा तीन हजार स्वयंसेवक परिचालन हुने वताइएको छ ।
ओली पक्षले सार्वजनिक गरेको रुटअनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनलगायत पेसागत संगठनहरूको जुलुस निस्कनेछ । त्यस्तै, महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घन्टाघरबाट मुस्लिम समुदाय तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको जुलुस सुरु हुनेछ ।
त्यस्तै, त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघर मण्डला क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस सुरु हुने छ।
पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि रुट तोकिएको छ ।
टेकुबाट काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको नेकपा केपी ओली समूहले जनाएको छ ।
Leave a Reply