Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले संकटकाल घोषणा गरेर सत्र साल ल्याउन खोजेको चित्रबहादुर केसीको दाबी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मध्यावधि  चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका छन्।

सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको दाबी समेत गरे ।

उनले नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उल्लेख गरे ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाए ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्ने विश्वास व्यक्त गरे ।

नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए ।

अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीसँग आफुबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको बताए । उनले  संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुनःस्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077