Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विद्रोही नेताका समर्थकको विरोध प्रदर्शनमा थुप्रै पक्राउ

    विद्रोही नेताका समर्थकको विरोध प्रदर्शनमा थुप्रै पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.3K
    SHARES

    एजेन्सी। रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरू गिरफ्तार गरिएका छन्।

    प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ।



    गत आइतवार जर्मनीबाट देश फर्केका उनलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजन गरेको प्रदर्शन रुसका ६० सहरमा हुने अपेक्षा गरेका छन्।



    नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन्। उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता हुन्।

    सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।

    नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भए।

    गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विषको हमला भयो। त्यसका लागि उनले पुटिनलाई दोषी मान्छन्।

    महिनौँपछि जर्मनीबाट मस्को फर्किएका नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए।

    यसअघि आइतवार उनको विमान अवतरण गर्ने भनिएको नुकोभो विमानस्थलमा थप दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो।

    अन्य कैयौँ अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।

    गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।

    त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी अचेत भएका थिए।

    उनलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो। नभाल्नीका प्रवक्ता किरा यार्मास र उनका एक वकिल ल्युबोभ सोबोललाई गिरफ्तार गरिएको छ।

    उनीहरूलाई जरिवाना वा छोटो जेल सजाय हुनसक्ने बताइएको थियो।

    सोबोललाई रिहा गरिएपनि यार्मासलाई नौ दिन जेलमा राखिने भएको छ। अन्य सहरमा पनि नभाल्नीका चर्चित समर्थकहरूलाई गिरफ्तार गरिएको छ।-बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार