Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मापसे गरी गाडी चलाएर पैदल यात्रुको हत्या गर्ने भिआइपी चालकलाई ‘प्रहरी सेटिङ’मै अस्पताल भर्ना !

    मापसे गरी गाडी चलाएर पैदल यात्रुको हत्या गर्ने भिआइपी चालकलाई ‘प्रहरी सेटिङ’मै अस्पताल भर्ना !

    डिआईजी धानुक भन्छन्- पीडितको पक्षमा काम गर्न र अनुसन्धानमा लापरवाही नगर्न एसपीलाई निर्देशन दिएको छु

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 4.7K
    SHARES

    एसपी प्रविण पोखरेल र हत्या आरोपित प्रविण शाक्य

    रुपन्देही । मदिराले मात्तिएर चलाएको गाडीले पैदल यात्रुलाई ठक्कर दिएर हत्या गर्ने चालकलाई उन्मुक्ति दिनका लागि प्रहरी नै लागिपरेको एक घटनाबाट खुलेको छ।

    लतिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएको पुस १७ गते अंग्रेजी नयाँबर्षको दिन राति प्रविण शाक्यले चलाएको गाडीले ठक्कर दिंदा शुद्धोधन गाउँपालिका २ का २४ बर्षीय महेन्द्र मरासिनीको मृत्यु भएको थियो ।



    तीव्र गतिमा हाँकिएको कारको ठक्करबाट गम्भीर घाइते भएका मरासिनीलाई क्रिमसन अस्पताल मणिग्राममा पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।



    मादक पदार्थ सेवन गरी गाडी हाँकेका शाक्यले पैदल हिंडिरहेका मरासिनीलाई ठक्कर दिएका थिए ।

    बुटवलबाट भैरहवातर्फ गइरहेको बा १९ च २०६८ नम्बरको शाक्य आफैंले चलाएको कारले मरासिनीलाई ठक्कर दिएको थियो ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले अस्पतालमा परीक्षण गराउँदा शाक्यले मापसे गरेको खुलेको अनलाइन नेपालसँग वताए ।

    पैदलयात्रु मरासिनीलाई ठक्कर दिएपछि भाग्दै गरेका शाक्यलाई प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो ।

    तर,शाक्यलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएर पेश गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रवीण पोखरेलले दबाब दिएको स्रोतले बताएको छ । शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको छ।

    शाक्यलाई प्रहरी हिरासतमा नराखी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेटिङमा पठाइ भर्ना गरिएको छ।

    डिएसपी राठौरलाई शाक्यको सवारी अनुमतिपत्र (लाइसेन्स )नबिकरण रहे वा नरहेको बारेमा प्रश्न गर्दा अनुसन्धान अधिकृतसँग सोध्नु पर्ने भन्दै पन्छिएका छन्।

    राठौरले शाक्यलाई छातीमा समस्या भएर अस्पताल पठाइएको र के कारणले डिस्चार्ज नभएको हो अस्पतालसँग नै बुझ्न आग्रह गरे।

    स्रोतका अनुसार प्रहरीले उन्मुक्ति दिन लागेका भीआइपी चालक शाक्यको लाइसेन्स समेत नवीकरण नभएको खुलेको छ ।

    प्रहरीले दुर्घटनापछि शाक्यलाई अस्पतालमा मापसे परीक्षण गराएको थियो । परीक्षण गराउँदा उनले मापसे सेवन गरेको पाइएको थियो ।

    लाइसेन्स समेत नवीकरण नभएका र मापसे गरी सवारी चलाएर मान्छे मारेर भागेका  भीआइपी चालक शाक्यलाई कर्तब्यज्यानमा मुद्दा चलाउनुपर्ने माग पीडित मरासिनीका परिवारले गरेका छन् ।

    तर, प्रहरीले सरकारी वकिलसँग सेटिङ मिलाई मुद्दा कमजोर बनाउन चलखेल गरिरहेको छ । पीडितलाई न्याय दिनुपर्ने ठाउँमा उल्टै आर्थिक चलखेल गरी मिलापत्र गराउने काममा प्रहरी नै सक्रिय भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले शाक्यलाई  मुद्दा कमजोर बनाई सवारी ज्यानमा मुद्दा चलाउन इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरलाई दबाब दिएको स्रोतले बताएको छ ।

    डीएसपी  राठौरले शाक्यलाई सवारी ज्यान मुद्दामा अनुसन्धान थालिएको वताए। शाक्यको सवारी अनुमतिपत्र नवीकरण नभएको र मापसे गरी पैदल यात्रुलाई किचेर मार्दा समेत प्रहरीले कर्तब्य ज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजेको देखिन्छ।

    ललितपुर घर भएका शाक्य लुम्बिनीस्थित लिट्टिल बुद्ध होटलका संचालक तथा जग्गा दलाल पनि हुन् ।

    पीडितका आफन्तलाई मुद्दामा नजान र क्षतिपूर्ती लिएर मुद्दा कमजोर बनाउन प्रहरीले नै दबाब दिएको कुरा बाहिर आएपछि पाँच नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी रविन्द्र धानुकले एसपी पोखरेललाई कानुन बमोजिमा काम गर्न निर्देशन दिएका छन्।

    डिआईजी धानुकले अनलाइन नेपालसँग भने, ‘मलाई त यो घटनाको जानकारी नै दिइएको थिएन। पछि बुझ्दा गम्भिर प्रकृतिको अपराध भन्ने खुलेपछि मैले अनुसन्धानमा लापरवाही नगर्न र पीडितको पक्षमा काम गर्न एसपीलाई निर्देशन दिएको छु।’

    यो घटनामा कुनै पनि प्रहरीले गल्ती गरेको देखिए कडा कारवाही गर्ने  डिआईजी धानुकले वताए।

    तर, चालक शाक्यले मापसे सेवन गरेको पुष्टि भइसकेको, गाडीले किचेर भागेको तथा उनको सवारी अनुमतिपत्र नवीकरण नभएको खुलिसक्दा पनि प्रहरीले कर्तब्य ज्यान मुद्दामा अनुसन्धान थालेको छैन।

    डिआईजी धानुकले एसपी पोखरेललाई कर्तब्य ज्यान मुद्दामा अनुसन्धान थालेर कारवाही प्रक्रिया अगाडि बढाउन  निर्देशन दिएको वताए।

    एसपी पोखरेलले यो घटनामा ठुलो आर्थिक चलखेल गरेका कारण शाक्यलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान नगरि  अस्पताल भर्ना गरी चलखेल गर्ने मौका दिएको पीडितका एक आफन्तले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार