मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् ।
प्रेस संगठन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताइन् ।
‘दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामाझ जान निर्वाचन घोषणा गर्नुभएको छ,’ उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा लेखिएको छैन । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न मिल्दैन, सर्वोच्चले व्याख्या गर्छ ।’
मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । ‘निर्वाचन आयोगले आफ्ना काम गरिरहेको अवस्था छ,’ उनले भनिन्, ‘निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको र सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमै निर्वाचन हुनेमा कसैले पनि शंका नगर्न आग्रह छ ।’
साथै मन्त्री तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्। प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भइसकेको भन्दै उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उनले बताइन्।
यद्यपि, खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाङ्फेको जिकिर छ।
Leave a Reply