काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (ओली समूह) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विश्वलाई चकित पार्नेगरि आर्थिक विकास गरेको दाबी गरेका छन् ।
आफू पक्षीय काठमाडौं जिल्ला कमिटीले शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामको प्रचार गर्न समेत नदिइएको बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने–‘सरकारले गरेका कामको प्रचार गर्न दिइएन, न आफूले प्रचार गरे । मेरै नेतृत्वमा रानीपोखरी, धरहरा निर्माण भएपनि साथीहरु डकर्मीले बनाएका हुन् भनिरहेका छन्।’
असली नेकपा आफैं भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिकासाथ अघि बढेको समेत बताए ।
उनले भने–‘‘हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ ? निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन।’
प्रधानमन्त्री ओलीले देशको कानुन र नियमावली अनसार पार्टी चलाइरहेको बताउँदै ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने ?’ भन्दै प्रश्न समेत गरे ।
कसले भन्यो प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ ?
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरे ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेकै बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् ।
छुट्टिएर गएको पुष्पकमल दाहाल ‘प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताउँदै उनले भने–‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला ।’
प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु लगायत रहेको बताए ।
तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।
Leave a Reply