काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन् ।
राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् । अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेकाले एकताकाे बाटाेमा निरन्तर लागिरहने उनकाे भनाइ छ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए ।
उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।
शुक्रबारबाे राष्ट्रिय सभा बैठकमा नेकपा राष्ट्रिय सभा संसदीय दलका नेता दीननाथ शर्माले सिद्धान्तका कारण नभई राजनीतिक कारणले पार्टी विभाजित भएको बताएका थिए । साथै उनले पार्टी उपाध्यक्ष गाैतमलाई पार्टी एकताकाे पक्षमा लागेकाेमा शुभकामनासमेत दिएका थिए ।
उनले पार्टीलाई एक बनाउनका लागि प्रयत्न गर्नुपर्ने बताए। 'वामदेव कामरेडले एकता रसायनको काम गर्छु भन्नुभएको छ। उहाँको अभियान सफल हो,' उनले पहिलो पटक राष्ट्रिय सभामा सहभागी भएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सम्बोधन गर्दै भने।