Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • कोरोनाको नाममा प्रहरीमा करोडौं अनियमितता, आईजीपी क्षेत्री नै मौन

    कोरोनाको नाममा प्रहरीमा करोडौं अनियमितता, आईजीपी क्षेत्री नै मौन

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी अस्पतालमा विनाटेण्डर कोटेसनकै आधारमा करोडौं रुपैयाँको सामान खरिद गरी अनियमितता गरिएको  छ । नेपाल प्रहरी अस्पतालमा औषधि लगायतका सर्जिकल सामान खरिदका लागि बार्षिक १० करोड ५० लाख रुपैयाँ सरकारले छुट्ट्याएको थियो ।

    कोरोना महामारीमा सरकारले सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको थियो । प्रहरी अस्पताललाई पनि कोभिड अस्पतालका रुपमा परिणत गरेपछि थप ३ करोड ५० लाख रुपैयाँ बजेट सरकारले दियो । कोरोना महामारी रोकथामका लागि आवश्यक सर्जिकल लगायतका सामान खरिदका लागि सरकारले उक्त बजेट थप गरेको थियो ।



    थप ३ करोड ५० लाख रुपैयाँ बजेटबाट अस्पतालका प्रमुख एआइजी डा.आशा सिंह र प्रबन्ध शाखाका प्रहरी नायब निरीक्षक (सई )दीपक थापाले स्यानीटाइजर, मास्क, पीपीई जस्ता सामान खरिद गरेका थिए ।



    ती सामान टेण्डर नगरी ३० प्रतिशतसम्म कमिशन लिएर खरिद गरेको आरोप छ । कोभिड रोकथामका लागि भनेर खरिद गरिएका ती मास्क, स्यानीटाइजर र पीपीई पनि गुणस्तरहीन खरिद गरेको आरोप एआइजी सिंह र सई थापामाथि लागेको छ ।

    त्रिपुरेश्वरमा रहेको सपना अग्रवालको साहिल सर्जिकल हाउस र चेतन अग्रवाल र उमेश संचालक रहेको गर्ग डेन्टलबाट ३० प्रतिशत कमिसन लिनेगरी खरिद गरेको स्रोतको दाबी छ ।

    सपना अग्रवालका २ वटा सर्जिकल सप्लाई गर्ने कम्पनी छन् भने चेतनका दाजुभाइका ५ वटा फर्म छन् । सपना अग्रवालको साहिल सर्जिकलले लकडाउनका बेला २ हजार ५ सय मूल्यको एउटा थर्मोगनको २० हजारदेखि २२ हजार रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको थियो ।

    सई थापाले सपना अग्रवाल र चेतन अग्रवालसँग एआइजी आशा सिंह, लेखाअधिकृत र खरिद समिति मिलाउनुपर्छ भनेर अग्रिम ३० प्रतिशत घुस लिएर मास्कदेखि पीपीई खरिदमा अनियमितताा गरेका छन् ।

    भुक्तानी दिने क्रममा सोझै सम्बन्धित सप्लायर्सको बैंकखातामा पैसा जानेभएकाले पनि सई थापाले अग्रिम घुस लिएर मात्र भुक्तानी दिएको स्रोतको दाबी छ ।

    बार्षिक औषधि खरिदमा विनियोजित साढे १० करोड रुपैयाँ बजेटमा पनि अस्पतालको प्रबन्धमा कार्यरत सई थापाले ४५ वटा कम्पनी सूचीकृत गरी जसले बढी कमिशन दिन्छ, उसैस“ग खरिद गर्ने गरेका छन् ।

    कोभिडको महामारीमा उनले मोलमोलाईमा सबैभन्दा बढी घुसको प्रस्ताव राख्ने साहिल र गर्गबाट किनेका थिए । औषधि खरिदमा पनि उनले त्यसै गर्दैआएको आरोप छ । प्रहरी अस्पतालमा भएको यस्तो नांगो भ्रष्टाचारमा आइजीपी शैलेश थापा क्षेत्रीको ध्यान पुग्न नसकेको गुनासो छ ।

    विभिन्न युनिटमा सामान्य त्रुटी भए पनि एक्सन लिंदैआएका आइजीपी थापाले अस्पतालजस्तो संवेदनशील ठाउँको भ्रष्टाचारमा किन चासो नदिएका हुन् भन्ने सवाल खडा भएको छ ।

    दीपक थापा असई हुँदादेखि सई हुँदा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासनमा कार्यरत थिए । गृहमन्त्रालयमा प्रेमकुमार राई सहसचिव हुँदादेखि नै कर्मचारी प्रशासनका हाकिमहरुसँग फाइल बोकेर जाने क्रममा उनको चिनजान राम्रो भएको थियो ।

    राईका बडीगार्ड रहेका सनम राईसँगै असईमा भर्ना भएकाले पनि उनको कनेक्सन झन् कसिलो हुन पुग्यो । प्रहरीको कर्मचारी प्रशासनको गोप्यमै कार्यरत थिए उनी । त्यही बेलामा शान्ति मिसनमा गएका उनी प्रेम राई सचिव भएपछि फर्किए ।

    राईसँगको चिनजानले उनी मिसनबाट फर्किएपछि काठमाडौं उपत्यका बाहिर जानुपरेन । अस्पतालमा दरबन्दी राखे । एआइजी दुर्गा पुन अस्पतालको प्रमुख भएपछि सई थापालाई अस्पतालको प्रबन्धमा राख्न प्रेम राईले सिफारिस गरिदिएका थिए ।

    गृहमन्त्रालयका सचिवको दबाब आएपछि तत्कालीन एआइजी पुनले सई थापालाई प्रबन्धमा राख्न बाध्य भइन् । प्रबन्धमा रहेका सई तुलसी शर्मा राजीनामै दिएर जागिरबाट बिदा भए । सई थापा त्यसयता निरन्तर अस्पतालको प्रबन्धमा बसी औषधिदेखि अस्पतालको करोडौं करोडको खरिदमा कमिसन खान र कमाउन तल्लीन छन् ।

    सरकारले साढे १० करोड रुपैयाँ बजेट औषधिका लागि दिएको छ । तर प्रहरी अस्पतालमा उपचारमा जाने प्रहरी कर्मचारी बहालवालाले नै चाहिएको औषधि पाउँदैनन् भने भूतपूर्वले त पाउन असभंव नै छ ।

    जबकि सरकारले बहालवाला र भूपू प्रहरीका लागि औषधि उपचार निःशुल्क गर्नका लागि उक्त अस्पताल खोलेको थियो । औषधि खरिदमा अस्पतालका प्रमुख र सईको मिलेमतोमा भएको यस्तो भ्रष्टाचारका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यान पुग्न नसकेको चिकित्सक तथा कर्मचारीहरूको गुनासो रहेको छ,आजको साँघु साप्ताहिकमा खबर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार