Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • नेकपा विभाजनबारे चीनको चासो

    नेकपा विभाजनबारे चीनको चासो

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हुँदै संसद् विघटनसम्मका कदम चालेपछि सत्तारुढ दल औपचारिक रुपमा विभाजित भएको छ । यद्यपि यसको वैद्यतालाई लिएर कानुनी लडाईं सुरु भएको छ । ओली र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह दुवै आफूलाई नै आधिकारिक नेकपा दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् ।

    पार्टी विभाजनपछि दुवै पक्षले आरोप प्रत्यारोपमात्रै होइन एकअर्काविरुद्ध संघर्षका कार्यक्रमसमेत घोषणा गरिसकेका छन् । यसबाहेक दुवै समूहले विभिन्न तहका कमिटीको पुनर्गठन थालिसकेका छन् । कारबाही र निष्कासनको निरन्तरता जारी छ । विभिन्न पदको ‘अफर’सहित एउटाले अर्को समूहका नेता कार्यकर्ता ‘चोर्ने’ खेल पनि चलेकै छ । प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावको खेल पनि सुरु भएको छ ।



    छिमेकी चिनियाँ पक्षले भने फुट आएका यी दुई समूहबीच पुनः एकताको सम्भावना कति छ भन्ने बुझ्न थालेको छ । नेकपा विभाजन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी यिनै प्रश्न बोकेर नेताहरुसँगको भेटघाट बाक्लो पारेकी छिन् । प्रधानमन्त्री ओलीले आइबार संसद् विघटन गरेपछि मंगलबार नेकपाका दुवै समूहका भिन्दाभिन्दै केन्द्रीय कमिटीका बैठक बसेका थिए । त्यहीँबाट नेकपा औपचारिक विभाजनमा गएको थियो ।



    नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न सक्रियता बढाएकी राजदूत यान्छीले नेताहरुसँगको भेटमा पुन: नेकपा एकताको सम्भावनाबारे चासो राखेको नेताहरुले बताएका छन् । शुक्रबार राजदूत यान्छीले नेकपाका दाहाल नेपाल समूहका एक अध्यक्ष माधवकुमार नेपाल, सोही समूहका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा र वर्षमान पुनसँग भेट गरेकी थिइन् ।

    राजदूतले भेट गरेमध्येका नेता महराले समसामयिक विषयमा कुरा भएको बताए । ‘अहिलेको समसामयिक विषयमा नै कुराकानी भयो । त्यसमा पनि नेकपाको विभाजन र एकताको विषयमा कुराकानी भएको हो । एकता भइराखेको भए राम्रो हुन्थ्यो, भएन यो दुखद कुरा हो । फेरि एकता हुन सक्छ सक्दैन भन्ने कुरा राख्नु भएको थियो,’ महराले भने, ‘मैले अहिले नै एकता हुन कठिन होला तर केही समयपछि एकताको कोसिस गर्छु भनेको छु ।’

    यस्तै राजदूतले भेट गरेका अर्का नेता पुनले पनि सामसामयिक विषयमा कुराकानी भएको बताए । ‘उर्जा मन्त्रीको रुपमा मैले काम गर्दा दुई देशबीचमा भएका समझदारी के हुन्छन्, चिनियाँ लगानीको निरन्तरतामा केही समस्या होला कि नहोला भन्ने चासो उहाँको थियो,’ पुनले भने, ‘मैले केही असर हुँदैन, निरन्तरता हुन्छ भने । त्यसबाहेक अरु समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भयो । नेकपाको एकता अझै सम्भव छ, छैन भन्ने पनि चासो थियो ।’

    राजदूत यान्छीले शुक्रबार नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई उनको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी छन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भेटमा दुई मुलुकका आपसी हितका विषयमा कुराकानी भएको छ । रिजालले भने, ‘नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम माथि उहाँको चासो थियो ।’

    त्यसअघि राजदूत यान्छीले बिहीबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी थिइन् । करिब २० मिनेटको भेटवार्तामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको दाहालको सचिवालयको बताएको थियो । भेटमा चिनियाँ राजदूतले संसद विघटनप्रति पनि चासो राखेकी थिइन् ।

    नेकपा विभाजनपछि चिनियाँ राजदूतले दाहाल-नेपाल समूहका नेताहरुलाई भेटेकी छन् । अध्यक्षद्वय दाहाल र नेपालबाहेक महरा र पुनसँग भेट गरे पनि अहिलेसम्म ओली समूहका नेतासँग उनको भेट भएको छैन ।

    नेकपा विवाद उत्कर्षमा हुँदा मंसिरमा ८ पनि राजदूत यान्छीले दाहाललाई भेटेकि थिइन् । त्यसअघि २ मंसिरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत यान्छी प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी थिइन् । ती भेटमा राजदूत यान्छीले नेकपाको तनावबारे चासो राखेकी थिइन् ।

    गत वैशाख र असारमा पनि सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन उनले ‘सहजीकरण’ गरेकी थिइन् । तर, पछिल्लो एक महिना यता चिनियाँ राजदूत शान्त थिइन् । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार