एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० खेलाडीमा समेटिएको लोरिएन्टमाथि सहज जित हात पारेको छ । दोस्रो हाफमा केलियन एमबाप्पे र मोइस किनले गोल गरेपछि पीएसजीले लोरिएन्टलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा बल पोजेसनमा बलियो पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
४९औं मिनेटमा केलियन एमाबाप्पेलाई फल गरेपछि एन्ड्रिउ ग्राभिलियनले पेनाल्टी बक्समा सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पे आफैले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए ।
५३औं मिनेटमा एमबाप्पेले सुवर्ण अवसर खेर फाल्दा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो ।५७औं मिनेटमा लोरिएन्टका गोलरक्षक नार्डीले राफिन्हा र फ्लोरेन्जीको दोहोरो बचाउ गर्दै थप गोल टारे । ६०औं मिनेटमा राफिन्हाको पासमा मोइस किनले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
६४औं मिनेटमा पीएसजीका गोलरक्षक सर्जियो रिकोले योआने विसाको प्रहारलाई बचाउदा लोरिएन्टले गोलअन्तर घटाउन सकेन । त्यसपछि पनि दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो । यो जितसँगै पीएसजी १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ३२ अंक छ । पराजित लोरिएन्ट ११ अंक जोडेर १८औं स्थानमा छ ।
Leave a Reply