काठमाडौं । सर्लाहीका उखु किसानहरुले काठमाडाैँमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सरकारले गरेको बाचा पूरा नभएपछि उखु किसानहरुले आइतबारदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका साथ गुनासो पोख्न थालेका छन् ।
सरकारले उक्त रकम उठाइदिने बाचा गरेको थियो । तर बाचा पूरा नभएपछि उनीहरुले आइतबारदेखि फेरि माइतीघर मण्डलामा धर्ना दिन सुरु गरेका छन् । चिनी मिल सञ्चालकले वक्यौता रकम नपाएपछि यसअघि पनि किसानले काठमाडौंमा आन्दोलन गरेका थिए ।
किसानहरु ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सोनो छ देश, ठूलो छ सरकार अटेन किसान’ भन्ने ब्यानरसहित ‘किसना मार्न पाइँदैन’, ‘श्रम र पसिनाको मूल्य पाउ’, ‘सरकार ! किसानलाई बाँच्न देऊ’, ‘उखुबाट चिनी बन्छ गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’ लगायतका नारा लेखेका पम्पलेटसहित प्रशर्नमा उत्रिएका छन् ।
यसपटक उनीहरुको गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । यो माग पूरा गराउन माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।