काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।
शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । साेही निर्णयअनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।
स्थायी कमिटीको बैठकबाट पार्टीभित्र हाल देखिएको विवाद निरुपण हुने नेताहरुको विश्वास छ ।
गत भदौ २६ गते सम्पन्न ८२ दिन लामो नेकपा स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, विवाद मिलेको भनिएको ८६ दिनपछि पुनः आइतबार नयाँ विवादित एजेण्डाबारे छलफल गर्न बस्न लागेको स्थायी कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ ।
पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ ।
यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका थिए ।
Leave a Reply