काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले नेपालको राजनीतिक अवस्थाका बारेमा आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ ।
नेपाल–भारत सम्बन्ध सुधार भइरहेको अवस्थामा भाजपाको मातृ संगठन राष्ट्रिय स्वंयसेवक संघले आफ्नो मुखपत्र ‘पाञ्चजन्य’मार्फत नेपालको राजनीतिका बारेमा टिप्पणी गरेको हो । २०२० डिसेम्बरको संस्करणमा सो पत्रिकाले ‘चीन के चगुंल मे नेपाल की राजनीति’ अर्थात् ‘चीनको नियन्त्रणमा नेपालको राजनीति’ शीर्षकमा लेख प्रकाशित गरेको छ ।
काठमाडौंबाट पंकज दासले लेखेको सो लेखमा नेपालको राजनीति चीनको नियन्त्रणमा रहेको दावी गरिएको छ ।
नेपालमा दुई पार्टी (एमाले र माओवादी) लाई मिलाउने काम चीनले गरेको उल्लेख गर्दै उक्त लेखमा दुई ठुला कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपाको आडमा चीनले नेपालमा आफ्नो बर्चस्व देखाउने प्रयास गरिरहेको उल्लेख छ । तर नेपाल र भारतबीचको सम्बन्धले गर्दा चीनलाई गाह्रो भइरहेको र त्यसका लागि चीनले भारतका खुफिया एजेन्सी ‘रअ’सँग आफ्नो सम्बन्ध बनाउन थालेको जिकिरसमेत लेखमा गरिएको छ ।
चीनले दिल्लीको ‘साउथ ब्लक’सँग आफ्नो सम्बन्ध बनाउन नेपालका बामपन्थी नेताहरुलाई पठाउन थालेको उल्लेख गर्दै लेखमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा.भट्टराई कुनै बेला ‘रअ’को निकै नजिक रहेको दावी गरिएको छ ।